कविता श्रेष्ठ

काठमाडौ, असोज २२ । महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन)ले गरेको सञ्चार अनुगमनले एक वर्षमा १ हजार सातसय महिला बेचविखनमा परेका समाचार प्रकाशित भएको देखिएको छ । समूहले २०७१ वैशाख महिनादेखि चैत्र महिनासम्म ५ वटा राष्ट्रिय दैनिकमा गरेको अनुगमनले यस्तो देखाएको हो ।

अनुगमनको क्रममा वैदेशिक रोजगारीको प्रलोभनमा परी भएका बेचविखनका बिषयमा ६ सय १९ वटा समाचार सामाग्री प्रकाशित भएको अनुसन्धानकर्ता प्रभास पोखरेलले जानकारी दिनुभयो । वर्षभरी मानव बेचविखनसँग सम्बन्धित २ सय ९९ वटा र कमलरीका बिषयमा ७६ वटा समाचार सामाग्री प्रकाशित भएका छन् ।

काठमाडौंमा गरिएको ‘छापामा मानव बेचविखन तथा ओसारपसार सम्बन्धमा प्रकाशित सामाग्रीहरूको बिश्लेषण ’ बिषयक कार्यक्रमका बीच उक्त जानकारी दिइएको हो । अनुगमनले ३५ प्रतिशत प्रकाशित समाचार सामाग्रीमा पीडितको पहिचान गोप्य राखिएको छ, भने १९ प्रतिशत समाचारमा पीडितको नाम खुलाइएको देखाएको छ ।

त्यसैगरी ३१ प्रतिशत समाचार सामाग्रीमा पीडितको नाम गोप्य राखिएता पनि घर, ठेगाना र आमाबुवाका नाम भने खुलाइएको अनुसन्धानले देखाएको छ । एक वर्षमा बेचविखनका बिषयमा ४ प्रतिशत सम्पादकीय र विचार प्रकाशित गरिएको पाइएको छ ।

२०७१ सालमा नेपालका ३५ वटा जिल्लामा बेचविखन सम्बन्धी घटनाहरू घटेकोे अनुसन्धानकर्ता पोखरेलले जानकारी दिनुभयो । बेचविखनमा परेका मध्ये ५० प्रतिशत महिला रहेको उहाँले बताउनुभयो । अधिकांश महिला आफ्नै घर परिवार वा आफन्तबाट बेचिने उहाँको भनाइ छ ।

कार्यक्रममा एट्विनका अध्यक्ष मीना बिष्टले चेलीबेटी बेचविखनबाट सुरू भएको बेचविखनको मुद्धा दिनप्रति दिन अझ चुनौतिपूर्ण हुँदै गएको बताउनुभयो । उहाँ सरकारी निकायको ध्यानकार्षण गर्दै यस बिषयलाई गम्भीरताका साथ लिन पनि आग्रह गर्नुभयो ।

Source: http://mahilakhabar.com/news/2015/10/09/6839.html, २०७२ असोज २२ गते शुक्रवार (2015-10-09)