१६  फागनु २०७४, काठमाडौं ।

१०८औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा, महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समुह नेपाल (एटविन)ले “मानव बेचबिखन तथा व्यवसायिक बाल यौनशोषण विरुद्ध आम संचारको भूमिका” विषयमा आज काठमाडौंमा राजधानीका संचारकर्मीहरुसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकार एवं अधिकारकर्मीले मानव बेचबिखन एउटा गभीर अपराध भएकोले मुलुकमा शान्ति र स्थिरता एवं सभ्य समाज निर्माणका लागि सो अपराध रोक्नुपर्ने दायित्व सबै पक्षको रहेता पनि मानव बेचबिखन अन्त्यका लागि राज्यको चौथो अंगको रुपमा रहेको सचार क्षेत्रको बिशेष भूमिका हुने कुरामा जोड दिइएको छ ।

एटविनकी अध्यक्ष अञ्जना शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रममा एटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले “नेपालमा मानव बेचबिखन तथा व्यवसायिक बालयौन शोषण” को विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुँदै आन्तरिक बेचबिखनको उद्देश्य श्रम शोषण तथा यौनशोषण गर्नु रहेको हुन्छ र अन्य विभिन्न कामका साथै त्यसमा बालबालिकाहरूको व्यवसायिक यौनशोषण पनि रहेको छ भन्ने कुरा उल्लेख गर्नुभयो ।
बरिष्ठ पत्रकार टंक पन्तले सहजीकरण गरेको उक्त कार्यक्रममा नेपालमा मानव बेचबिखन तथा व्यवसायिक बालयौन शोषणका विभिन्न आयामहरु र त्यसका अन्त्यका लागि आम संचारको भूमिकाको सम्बन्धमा छफलफल गरिएको थियो ।

नेपालमा सीमापारिको बेचबिखनका साथसाथै आन्तरिक बेचबिखनले पनि गम्भीर रूप लिंदै गएको छ । मानव बेचबिखनको जोखिममा धेरै संख्यामा महिला तथा बालबालिका पर्ने भएतापनि आन्तरिक बेचबिखनमा भने बढी बालबालिकाहरू पर्ने गरेका छन् ।

आइएलओ/आइपेकका अनुसार नेपालबाट वर्षेनी १० हजार देखि १२ हजारसम्म महिला तथा बालबालिकाहरूको बेचबिखन हुने गरेको छ भने राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो राष्ट्रिय प्रतिवेदनले २३ हजार २ सय पीडित मध्ये ६ हजार १ सय बेचबिखनमा परेको र ती मध्ये करीब ६० प्रतिशत महिला तथा बालिका तथा लगभग ४० प्रतिशत पुरुष तथा बालक रहेको जनाएको छ ।

नेपाल प्रहरीमा २०७३÷०७४ मा दर्ता भएका मानव बेचबिखनसम्बन्धी मुद्दा २२७ छन् भने काठमाडौं उपत्यकाभित्र मात्रै क्याबिन रेस्टुरेन्ट, दोहोरी रेस्टुरेन्ट, डान्स रेस्टुरेन्ट र मसाज पार्लरको संख्या करिब १२ सय रहेको छ । जसमा करिब ५० हजार कामदार संलग्न रहेको र ती मध्ये ८० प्रतिशत महिला कामदार रहेका छन् । यसैगरी काठमाडौंको यौन व्यवसायमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूको ११ देखि २० प्रतिशतसम्म पुगेको बताइएको छ ।

नुवाकोट निवासी सुन बहादुर तामाङ जस्ता मानव बेचबिखनको अपराधी, जसले यसलाई यस अपराधमा २० वर्षभन्दा बढी समयदेखि संलग्न रही सयौं महिला तथा बालिका बेचबिखन गरेको अभियोग लागेको छ र भारतका विभिन्न चार ठाउ“मा कोठीहरु समेत संचालन गरेको आरोप लागेको छ । त्यसता अपराधीलाई धरौटीमा छोड्नुभन्दा पनि कडा भन्दा कडा छन् कारवाही गरी पीडितलाई न्याय र संरक्षण गर्नु आवश्यक छ ।

कार्यक्रममा एटवीन कार्यसमिति सदस्य इन्द्रराज भट्टराईले स्वागत मन्तव्य राख्ने सन्दर्भमा मानव बेचबिखन एवं बाल यौनशोषण जस्ता घटना र संचारकर्मीले उठाउने गरेका सकारात्मक नकारात्मक प्रभावको बारेमा प्रकाश पार्नुभएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा ५१ जना अधिकारकर्मी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।