दैनिक नेपाल २०७४ साउन २८ गते 

काठमाडौं, २८ साउन । मानब बेचबिखन बिरुद्ध संचालित २० वर्षे अभियानको इतिहास प्रष्ट रुपमा झल्किने गरी मानब बेचबिखन बिरुद्ध एटवीनको २० वर्ष नामक पुस्तक सार्बजनिक भएको छ ।

महिला तथा बालबालिका बेचबिखन बिरुद्ध सहकर्मी समुह एट्वीनको वार्षिक साधारण सभाको अबसरमा लोकार्पण गरिएको सो पुस्तकमा मानब बेचबिखन बिरुद्ध बितेको २० वर्षमा के भयो ? अहिले मानब बेचबिखनको अबस्था कस्तो ? राज्यले कस्तो निर्बाह गरिरहेको छ ? नागरिक समाजको भूमिका के हुनृु पर्छ ? मानब बेचबिखन नियन्त्रणका लागि कस्ता कस्ता कानून बनेका छन ? ती ऐन कानून कार्यान्वयनको अबस्था कस्तो रहेको भन्ने लगायतका मानब बेचबिखन सबन्धी सम्पूर्ण विषय समेटिएको छ ।

मानब अधिकार, महिला अधिकार, बाल अधिकारका बिषयमा कार्यरत तीन दर्जन संस्थाहरुको नेटवर्क एट्वीनले आफनो इतिहासमा पहिलो पटक प्रकाशन भएको पुस्तक मानब बेचबिखन बिरुद्ध अध्ययन अनुसन्धानका लागि ऐतिहासिक सामग्री हुने बिश्वास गरिएको छ ।

राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, राष्टिय महिला आयोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरे, बरिष्ठ मानब अधिकारकर्मी शर्मिला कार्की, दुर्गा घिमिरे, डा रेणुराज भण्डारी, अनुराधा कोइराला, गौरी प्रधान, सुबोध प्याकुरेल, बरिष्ठ पत्रकार टंक पन्त, मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल, उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवर, एटवीनका अध्यक्ष मीना बिष्ट सहित सबै बिधाका बरिष्ठ ब्याक्तित्वहरुले सो पुस्तक लोकार्पण गर्दे बर्तमान नेतृत्वले एटवीनकै इतिहासमा अनुकरणीय र ऐतिहासिक काम गरेको उल्लेख गर्नुभएको छ ।

बरिष्ठ बालअधिकारकर्मी कुमार भटराइले सचालन गर्नुभएको कार्यक्रममा बिशिष्ट बक्ताहरुले मानब बेचबिखनको स्वरुपमा परिबर्तन, मानब बेचबिखन गरिब अशिक्षाबाट मात्र नभएर पासपोर्ट लेभलमा समेत हुन थालेकोले यसको निराकरणका लागि राज्य देखि सबै सरोकारवाला पक्षले गम्भिरतापूर्वक लिनुपर्ने कुरामा जोड दिएका छन् ।

मानब बेचबिखन बिरुद्धको अभियानमा महत्वपूर्ण योगदान पुगाउनु हुने शक्ति समुहका संस्थापक सुनिता दनुवार, चरिमाया तामाङ, एटवीनमा प्रारंभदेखि नै कार्यरत एट्वीनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङ, मेलम्ची नगरपालिकाकी उपप्रमुख एवं यो अभियानमा प्रारंभदेखि लागेकी भगवती नेपाललाई सम्मान गरिएको छ ।

Source: http://www.dainiknepal.com